गोरखामा वर्षासँगै बाढी, पहिरो : घरहरु, पुल र हजारौं रोपनी खेत बगायो

बिहिबार रातभरको वर्षापछिको बाढी र पहिरोले गोरखाका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ। पालुङ्टार नगरपालिका वडा नं. ६ मा एक व्यक्तिको घर पहिरोले बगाएको छ। वडा नं. ९ मा मोटरेबल पुल र हजारौँ रोपनी खेत बगाएको वडाअध्यक्ष भेजराज पाण्डेले जानकारी दिए।

पालुङटार ६ कल्लेरीमा पहिरोले स्थानीय केशरबहादुर थापाको घर बगाएको छ। घरबासविहीन भएपछि थापाको परिबार नजिकै त्रिपाल टाँगेर बसेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यहाँका आठ घर पहिरोले क्षतिग्रस्त छन्। सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहादुर थापा, वीरबहादुर राना, ज्योति राना लगायतको घरमा पहिरोले क्षति पुर्‍याएको प्रहरीको भनाइ छ।

त्यस्तै छापथोक उखुबारीको बस्ती माथिबाट झरेको पहिरोले चारघर उच्च जोखिममा रहेको वडाअध्यक्ष चेतबहादुर गुरुङले जानकारी दिए। जगतबहादुर गुरुङ, रञ्जना गुरुङ, टेकबहादुर गुरुङ र सोमबहादुर गुरुङको घरमा पहिरो पसेको उनले बताए।

त्यस्तै पालुङ्टार ९ जोगीबेशीको राममाया कुँबरको घर स्थानीय खहरेखोलाले क्षतिग्रस्त बनाएको छ। उनको परिबार पुरानो बस्तीस्थित घरमा सरेको वडाअध्यक्ष भेजराज पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार स्थानीय चुतीखोलाको बाढीले सेराबजार उच्च जोखिममा रहेको छ।

सो खोलाको बाढीले जोगीबेशीदेखि विर्दीसम्मको करिब पैँतीससय रोपनी खेत बाढीले बगाएको उनले बताए। भित्र्याउने बेला भएको बर्खेधान(जुडीधान) र रोपाइँको तयारी भइरहेको फाँट बाढीले बगाएपछि किसान चिन्तित छन्।

अँबुवा, बिर्दी, सेरा सडकमा रहेको बिर्दीपुल चुती खोलाको बाढीले बगाएको छ। ठाउँठाउँमा झरेको पहिरोले सो सडक अवरुद्ध भएको उनले बताए। त्यस्तै पहिरोले बारकिलो बारपाक सडक पनि अवरुद्ध भएको छ।

सिरानचोक गाउँपालिका वडा नं. ७ र ८ स्थित बिरालेझ्याङ र केराघारीमा पहिरो झर्दा सडक अबरुद्ध भएको प्रहरी कार्यालयले जनाएको छ। कानटारमा झरेको पहिरोले आँबुखैरेनी मनकामना सडक पनि अबरुद्ध रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित