महिनावारी हुँदा महिलाले प्रयोग गर्ने सेनिटरी प्याडमा सरकारले भन्सार छुट दिएपछि राज्य, स्वदेशी उद्योग र उपभोक्ता उल्टो मर्कामा परेका छन् । विदेशबाट तयारी अवस्थामा आउने प्याडको भन्सारमा ९० प्रतिशत सहुलियत दिँदा राजस्व स्वतः कम हुने भएको छ भने अर्कोतिर कच्चा पदार्थमा भन्सार यथावत् राखिएकाले स्वदेशी उद्योगको लगानी जोखिममा परेको छ ।
त्यसमाथि तयारी प्याडको भन्सार १५ प्रतिशतबाट १.५ प्रतिशतमा झारिएको दुई साता नपुग्दै सबैजसो विदेशी प्याडको मूल्य झन् बढेको छ । अर्थमन्त्री जनार्दन शर्माले संसद्मा बजेट प्रस्तुत गर्नुअघि करिब २० दिन बजारमा प्याडकै अभाव भएको औषधि पसलका सञ्चालकहरू बताउँछन् । खासमा भन्सारमा सहुलियत दिने घोषणा हुँदै छ भन्ने सूचना पाएपछि प्याडको आयात नै रोकिएको उनीहरूको भनाइ छ । तर, बजेट प्रस्तुत भएपछि एकाएक बजार मूल्य बढाइएको छ ।
‘पहिले २० दिनजति प्याड अभाव भयो । अहिले ५ रुपैयाँदेखि १२ रुपैयाँसम्म बढेर आएको छ । प्याडमा अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकिएको छैन, त्यसैले मूल्य बढाएर बेच्न गाह्रो भएको छ,’ शंखमूलस्थित डायमन्ड फार्मेसीकी रोजिना सुवाल भन्छिन्, ‘प्रतिप्याकेट १४० रुपैयाँ पर्ने स्टेफ्री १५२ पुगेको छ । सोफी ब्रान्डको एन्टिब्याक्टिरियल प्याडको मूल्य ५ रुपैयाँ बढेर आएको छ । ७० रुपैयाँमा पाइने ह्विस्पर (नर्मल) अहिले ७८ रुपैयाँ पुगेको छ ।’
भारतीय ब्रान्डका ह्विस्पर, स्टेफ्री र सोफी नेपालमा धेरै बिक्री हुने सेनिटरी प्याड हुन् । नाइन, कम्फी, केयरफ्रीलगायत भारतीय ब्रान्ड पनि नेपालमा पाइन्छन् । त्यसो त भारतबाहेक चीन, डेनमार्क, हङकङ, फिलिपिन्स, बेलायत, अमेरिकीलगायत मुलुकबाट पनि प्याड आयात हुन्छ ।
संसद्मा बजेट प्रस्तुत हुनुअघिसम्म तयारी प्याड, त्यसको कच्चा पदार्थमा १५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने गरेको थियो । स्वास्थ्यसँग जोडिएको अत्यावश्यकीय सामग्री भएकाले विलासिताको सामग्री मानेर लगाइएको कर खारेज गर्न माग गर्दै गत असोजमा महिलाहरूले आन्दोलन गरेका थिए । ‘रातो कर माफ गर’ भन्ने ब्यानरमा भएको आन्दोलनको माग सम्बोधन गर्न सरकारले भन्सार महसुलको ९० प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।
नयाँ व्यवस्थासँगै अहिले प्याड आयातमा १.५ प्रतिशत भन्सार महसुल लाग्छ, भ्याट भने यथावत् छ । तर, अहिले प्याडको होलसेल मूल्य नै ५ रुपैयाँसम्म बढेर आएको काठमान्डु सर्जिकल सप्लायर्सकी सञ्चालक सीता केसीको भनाइ छ । ‘पैसा पनि बढेको छ, प्याड पनि पाइँदैन,’ उनी भन्छिन्, ‘होलसेल १०५ रुपैयाँ पर्ने ह्विस्पर ग्रिनको मूल्य अहिले ११० रुपैयाँ पुगेको छ ।’
प्याडको भन्सारमा छुट दिएको सरकार मूल्य वृद्धि हुँदा भने बेखबर छ । यो विषयमा गुनासो नआएकाले आफूहरूलाई थाहा नभएको बताउँछन् वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्मा । ‘उपभोक्ताले मूल्य बढेको गुनासो गर्छन् भने अनुगमन गर्छौं, मूल्य बढ्नुका कारण खोज्छौं,’ उनी भन्छन्, ‘आयात हुने देशबाटै मूल्य बढेर आएको हो कि नेपाली बजारमा मात्र बढेको हो । भन्सारको प्रज्ञापनपत्र ल्याएर भए पनि बजार मूल्य हेर्छौं । त्यसको अनुगमन हुन्छ ।’ व्यापारीले आफूखुसी बढाएका रहेछन् भने कारबाही पनि गरिने उनले बताए ।
खासमा भन्सार छुट हुँदै छ भन्ने सूचनाका आधारमा सामान आयात नै रोकिएकाले अहिले बजारमा प्याडको अभाव भएको र त्यही मौकामा मूल्य बढाइएको जानकारहरूको भनाइ छ । एसकेएस ट्रेडर्सका सञ्चालक सिजेन केसीका अनुसार बीचमा नयाँ सामान नआएको र मध्यस्थकर्ताले पुरानो सामानै मूल्य बढाएका हुन् । ‘साना–साना पसल र मध्यस्थकर्तासँग मात्र अहिले प्याड छ, उनीहरूले नै सामानको मूल्य बढाएका छन् । नयाँ सामान आउन समय लाग्छ,’ उनी भन्छन् ।





















Discussion about this post