नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरू नै मिटर ब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिसन लिइरहेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक-२०७९ अन्तर्गतको विभिन्न शिर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद सुवालले यस्तो आरोप लगाएका हुन्।
उनले कतिपय पदाधिकारीहरूले स्वकीय सचिव र भान्सेसमेत आफन्त राखेर मिटर ब्याजीको रकम गोजीमा राखेको पनि विभिन्न समाचार माध्यममा आइरहेको भन्दै आपत्ति जनाए।
सांसद सुवालले मिटर ब्याज नियन्त्रण गर्ने सरकारको बजेट वक्तव्यमा उल्लेख भए पनि कानुन हातमा लिन सक्नेहरू नै यसको नियन्त्रणमा बाधक देखिएको दाबी गरे।
उनले भने, ‘बजेट वक्तव्यमा मिटर ब्याज नियन्त्रण गर्ने उल्लेख छ। तर गृह प्रशासनका हाकिमहरूका श्रीमती, आफन्त र सल्लाहकारहरू मिटर ब्याजमा संलग्न भएको र नक्कली सुराकी बनाएर कमिसन लिइरहेको कतिपय पदाधिकारीहरूले आफन्तहरूलाई नै स्वकीय सचिव र भान्से राखेर रकम गोजीमा राखेको समाचार पनि छ। यस्ता गलत काम त कानुन हात लिन सक्नेहरूले गरेको देखियो नि।’
सांसद सुवालले मुलुकलाई ऋणमा डुबाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको पनि दोहोर्याए।





















Discussion about this post