कुमारी आमा निहारिका राजपूत माइतीघरमा २१ महिने बच्चासित आमरण अनसनमा

काठमाडाैं । १७ वर्षको उमेरमा बलात्कृत भएर २१ महिने बच्चाकी कुमारी आमा निहारिका राजपूतले माइतीघरमा आमरण अनसन सुरु गरेकी छन् ।
आफूले न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई राजनीतिक र आर्थिक शक्तिको आडमा उन्मुक्ति दिएको भन्दै उनी अनिश्चितकालीन अनसनमा बसेकी हुन् ।

२०७८ साल माघ २४ गते जिल्ला अदालत धनुषाले अपराधी शिवराज श्रेष्ठको पक्षमा फैसला गरेपछि ०७८ फागुन १२ गते राजपूतले उच्च अदालत धनुषामा जिल्ला अदालतको फैसला उपर मुद्दा दायर गरेकी थिइन् । तर, चार महिना बितिसक्दा पनि अदालतले पेसी नतोकिदिएको भन्दै राजपूतले अनसन सुरु गरेकी हुन ।

अनसनमा उनले पाँच बूँदे माग राखेकी छन् । उनले मागमा आफ्नो बच्चाको डिएनए टेस्ट गरिनुपर्ने, आफू र काखमा रहेको बच्चालाई मतलबै नगरी अपराधीको पक्षमा अदालतले गरेको फैसलामाथि छानबिन हुनुपर्ने माग राखेकी छन् ।

‘उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन । म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो । न्यायालयले मेरो मृत्यु चाहेको हो ? उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्‍यो’, उनले मागमा भनेकी छन्, ‘मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ । प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गरिनुपर्‍यो । मेरो २१ महिने बच्चाको लालन पालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरू राज्यले सुनिश्चित गरिदिनुपर्‍यो ।’

जबसम्म मागहरू पूरा हुँदैनन्, तबसम्म आफूले अनसन नतोड्ने उल्लेख समेत गरेकी छन् । उनले प्रहरी प्रशासनले घटनाको सुरुवातदेखि नै मुद्दालाई कमजोर पारिदिएकाले पुनः अनुसन्धान गरिनुपर्ने माग गरेकी छन् । आफूले न्यायको प्रत्याभूति नगरेसम्म अनसन निरन्तर जारी राख्ने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित