फोहोरजन्य सामग्री उठाउन प्रयोग गरिने ट्याक्टर, टिप्परले फराकिलो चौडाइ रहेका सडकको फोहोर मात्रै उठाउने गरेको जनगुनासो नयाँ होइन । यही जनगुनासोको समाधान गर्न लहान नगरपालिका वडा नं.७ का वडाध्यक्ष रामअवतार शर्माले एउटा नयाँ उपाय निकालेका छन् ।
वडाध्यक्ष आफैँ फोहोर माग्न कन्टेनर सफारी लिँदै आफ्नो वडाका साँघुरा गल्लीभित्रका टोलटोलमा पुग्ने गरेका छन् । वडाध्यक्ष शर्माले साँघुरा गल्लीभित्र रहेका टोलको फोहोर उठाउने माध्यम बनाएका छन् कन्टेनर सफारीलाई ।
यात्रु बस्ने गरेको चालक पछाडिको सिटी सफारीको भागलाई हटाई त्यसको साटो दुई वटा कन्टेनर जडान गरी दुई भागमा विभाजन गर्न लगाएर एउटामा सड्ने फोहोर र अर्कोमा नसड्ने फोहोर भण्डारणको रूपमा प्रयोग गर्दै आएका छन् ।
निर्वाचित भएपछि पहिलो कार्यपालिका बैठकले वडाध्यक्ष शर्मालाई नगरभित्रको सरसफाइ संयोजकका रूपमा छनोट गरेलगत्तै उनको ध्यान मुख्य सडकको भित्रि टोलमा रहेका फोहोरजन्य सामग्रीलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ केन्द्रित थियो ।
भित्रि टोलको फोहोर नउठाउँदा सबै फोहोर नालामै थुप्रिने र वर्षा याममा नालामा थुप्रिएको फोहोर मुख्य सडकको नालाभित्र पसेपछि पुरै नगरपालिकाको नालाको निकास अवरुद्ध हुने समस्या थियो ।
ट्याक्टरसमेत नपुग्ने नगरका साना गल्लीमा सिटी सफारी सजिलैसँग पुग्ने देखेपछि वडाध्यक्ष शर्माले सोही सिटी सफारीलाई त्यसका लागि प्रयोग गर्ने योजना बनाए ।
नगरपालिकासँग समन्वय गरी सरसफाइकै बजेटबाट उनले दुईवटा सिटी सफारी खरीद गरे । त्यसलाई लिएर स्थानीयले फलाम जोड्ने कारखानामा पुगे । सिटी सफारीको यात्रु बस्ने सिट र त्यसमाथिको छत हटाउन लगाए र त्यसको साटो दुईवटा कन्टेनर राखेर सिटी सफारीलाई फोहोर ढुवानी गर्ने कन्टेनर सफारीमा रूपान्तर गरी आफैँ फोहोर संकलन गर्न टोलटोल छिरे ।
‘अब यो सानो कन्टेनरमा कम से कम सानो गल्लीभित्र रहेको एउटा बस्तीको फोहोर राम्ररी उठाउन सकिन्छ, वडाध्यक्ष शर्माले भनेका छन्– ‘मैले यसलाई परीक्षणका लागि आफ्नै वडाबाट प्रारम्भ गरेको छु, आउँदो नगरसभाको सरसफाइको बजेटबाट लहान नगरपालिकाको २४ वटै वडालाई यस्तै एक–एक वटा कन्टेनर सफारी दिने योजना बनाएको छु ।’





















Discussion about this post