वीरेन्द्रका पाला सुरु गरेको कुलोमा ३६ वर्षपछि बल्ल आयो पानी

पाल्पा। कचल फाँटमा सिँचाइ कुलो ल्याउन श्रमदान गर्नेमध्येमा वीरबहादुर बगाले मगर पनि थिए । चार घण्टा टाढाबाट सामान ल्याएर कुलो बनाएको उनलाई सम्झना छ । तर, काम सकिएला भन्दाभन्दै ३६ वर्ष बित्यो ।

‘म बूढो भएँ, बल्ल आएर कुलोमा पानी चलेको छ,’ तिनाउ गाउँपालिका–१, कचल फाँटका ६५ वर्षीय मगरले भने, ‘अझै शाखा नहर विस्तार हुने कहिले हो, थाहै छैन ।’ ०४० सालमा तत्कालीन राजा वीरेन्द्र पाल्पा भ्रमणमा आउँदा स्थानीयले कचल फाँटमा सिँचाइ कुलो मागेका थिए ।

राजाको ‘हुकुम’बाट ०४३/४४ देखि काम सुरु भयो । योजनाका लागि परेको ३ करोड बजेटबाट ०४७/४८ सम्म काम थालियो, तर योजना पूरा हुन सकेन । मुहानबाट सुरु हुनुपर्ने काम तल्लो क्षेत्रको फाँटमा मात्र भयो, पछि बजेट नै परेन ।

‘मुहानतिर भीर पहरो देखेर ठेकेदारले फाँट क्षेत्रबाट काम थाले,’ स्थानीय पूर्णबहादुर बगाले मगर भन्छन्, ‘त्यही कारण यहाँ दोभान (कचल) खोलाको पानी फाँटसम्म आउन सकेन, योजना अलपत्र भो ।’

यो कचल फाँट सिँचाइ उपआयोजना हो । यसको स्रोत दोभान खोलामा पर्छ । मुहानदेखि कचल फाँटसम्म ७ किलोमिटर मुख्य नहर हो । यहाँका ६ हजार रोपनी (३ सय हेक्टर) जग्गा सिँचाइ हुने गरी योजना निर्माण भएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख टंकबहादुर केसीका अनुसार लामो समय अवरुद्ध भएको योजनाले ०६२/६३ देखि पुनः निरन्तरता पायो ।

‘बर्सेनि थोरैथोरै बजेट पर्ने तर प्रगति नदेखिने भएको रहेछ,’ उनले भने । २०७३/७४ मा १३ करोड ९५ लाख बजेट परेपछि कामको ठेक्का लाग्यो । साबिकको पश्चिमाञ्चल क्षेत्रीय सिँचाइ निर्देशनालयमार्फत सिँचाइ विभागको मझौला सिँचाइ कार्यक्रमअन्तर्गत योजना स्वीकृत भएर काम अघि बढ्यो ।

तीन प्याकेजमा काम सुरु भएपछि पहिलो प्याकेजमा डिभिजन र प्राकृतिक निर्माण सेवा प्रालिबीच ठेक्का सम्झौता भयो । दोस्रोमा पाइप खरिद र तेस्रोमा उपभोक्ता समितिमार्फत हुने काम । ‘त्यसपछि बल्ल कामले गति लियो,’ डिभिजन प्रमुख केसीले भने, ‘तर, सोचेजस्तो छिटो काम हुन भने सकेन ।’ भीर, पहरा फोड्न नसकेर अहिले पनि १ हजार १ सय मिटरमा तीनवटा ठूला पाइपबाट पानी ल्याइएको छ । कचल सिँचाइ जल उपभोक्ता समितिका सचिव रेवन्तबहादुर छहरीका अनुसार शाखा पक्की नहरको काम अझै भएको छैन । गाउँसम्म मुख्य नहर आए पनि तल्लो भेगसम्म लैजान बाँकी छ ।

ठूलो फाँट भए पनि किसानले एक खेतीभन्दा बढी लगाउन सकेका थिएनन् । सिँचाइ सुविधा अभावले धेरैले बसाइँ सराइ पनि गरे । अघिल्ला वर्षमा असार लाग्दा मात्र धानको ब्याड राख्ने किसानले यो बर्ष बीउ बनाइसकेका छन् । ‘कुलोमा पानी चलाउने दिनमै हामीले ब्याड राखेको हो,’ स्थानीय मनकला बगाले मगरले भनिन्, ‘यस वर्ष समयमै रोपाइँ पनि हुने भयो ।’

यहाँ झन्डै ४ सय घरपरिवारको बसोबास छ । उर्वर भूमि र ऊर्जाशील किसानका लागि सिँचाइले व्यावसायिक बन्न सहयोग पुग्ने तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । ‘अब व्यावसायिक र आधुनिक कृषि प्रणालीलाई जोड दिने छौं,’ उनले भने । कचल सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष जोगलाल सूर्यवंशीले गर्नुपर्ने काम धेरै भए पनि खोलाको पानी गाउँसम्म ल्याउन सक्नुलाई उपलब्धि मानिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित