नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचनको परिणामपछि झस्किएर गठबन्धन फुटाउने प्रयास सुरु भएको बताएका छन्। गठबन्धन के का लागि थियो, किन थियो भन्ने कुरा प्रमाणित हुँदै गएको भन्दै नेता सिंहले संविधानमाथि पटकपटक प्रहार भएकाले कांग्रेस नेतृत्वमा जारी भएको संविधान जोगाउन परिस्थितिले गठबन्धनमा जानु परेको स्पष्ट पारे।
कांग्रेसका केही जित्ने साथीहरुले गठबन्धनका कारण अवसर नपाए पनि व्यवस्था जोगाउन गठबन्धनमा जानु परेकोसमेत उनको भनाइ छ। स्थानीय निर्वाचनको नतिजाले कांग्रेस पहिलो पार्टी बनेको भन्दै अब फेरि आउँदै गरेको निर्वाचनमा अझै मेहनत गरेर ठूलो पार्टी बनाउन जनतामा जानुपर्नेमा उनले जोड दिए।
कांग्रेस बनेपा नगर समितिले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अहिले एसपीपीका बिषयमा हुँदै नभएको विषय उचालेर कांग्रेसमाथि प्रहार भैरहेकोमा आक्रोश पोखे।
विपक्षी दलले आफू सत्तामा हुँदा पत्र लेख्ने, अनि एसपीपीको नाममा गठबन्धन फुटाउन सकिन्छ कि भनेर प्रयास गरेको सिंहको आरोप छ। कांग्रेसले राष्ट्रको अहित हुने कुनै सम्झौता नगर्ने भन्दै नेता सिंहले प्रधानमन्त्रीले पटक पटक आफू राष्ट्रको अहित हुने कुनै पनि सम्झौता गर्दिन भनेको स्मरण गराए। तर यो सम्झौता भएकै छ भन्नु, नियोजित तरिकाले १०बुँदे ड्राफ्ट सार्वजनिक गर्नुले विपक्षी दल आफैं फसिसकेको सिंहको तर्क छ।
जुन पार्टीले लोकतन्त्रका लागि यतिका योगदान गर्छ उहीँ पार्टीले मुलुक र जनताको अहित हुने काम गर्छ भनेर आरोप लगाउनु अशोभनीय हुने सिंहले जिकिर गरे।
कांग्रेसलेमात्रै मुलुकको हित गर्न सक्ने भन्दै नेता सिंहले पार्टीभित्रको आन्तरिक एकता बलियो भएमात्र लोकतन्त्र बलियो हुने धारणा राखे। पार्टीभित्र एकता कायम राखेर विधि पद्धतिमा कांग्रेस पार्टी संचालन गर्न सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए।
निर्वाचित जनप्रतिनिधिले पार्टीका कमिटीसँग छलफल र सुझाव लिएर काम गर्न र पार्टी कमिटीले निर्वाचित जनप्रतिनिधिलाई सहयोग गरेर अघि बढ्न उनले आग्रह गरे।





















Discussion about this post