पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्री प्रेम आलेविरुद्ध आचरण अनुगमन समितिको कार्यालयमा उजुरी परेको छ । मन्त्री आलेले सांसद पदको आचारसंहिता विपरीतको कार्य गरेको भन्दै छानबिन गर्न अनुरोध गरिएको छ ।
पर्यटन, नागरिक उड्डयन तथा संस्कृतिमन्त्री प्रेम आलेले नेपाल वायु सेवा निगमका अध्यक्षलाई अश्लील गाली गरेको अडियो शुक्रबार सार्वजनिक भएको थियो ।
मन्त्री आलेले ‘नियमको बर्खिलाप गरी आफ्नै कार्यकक्षमै अपशब्द प्रयोग गरेको’ भन्दै आपत्ति जनाउँदै उजुरी दिइएको हो । देशको जनप्रतिनिधिमूलुक संस्थाले आधुनिक युगका आवश्यकता अनुसार भाषिक क्रियाकलाप गर्न भाषालाई सक्षम बनाउँदै लैजानु पर्ने पत्रमा उल्लेख छ ।
‘माननीय सांसद प्रेम आलेज्यूले प्रयोग गर्नुभएका शब्द कदापि समाजमा बोल्न र सुन्न योग्य होइनन् । के नेपालले यस्तै जनप्रतिनिधिबाट भाषा स्थापित गर्न खोजेको हो ?’ उजुरी पत्रमा भनिएको छ, ‘ यसले नेपालको भाषा र संस्कृतिमाथि ठूलो चोट मात्रै पुर्याएको छैन, सामाजिक सुव्यवस्था तथा मर्यादामाथि साधिकार व्यक्तिबाटै निर्लज्ज प्रहार भएको छ। यसले गर्दा जनप्रतिनिधिहरुको सामाजिक तथा सांस्कृतिक मूल्य मान्यता र जिम्मेवारीबाट समेत विमुख भएको महसुस भएको छ ।’
केही समय पहिले सार्वजनिक भएको पहिलो टेलिफोन अडियो मन्त्री आलेले आफ्नो भएको स्विकार गरिसकेका छन् भने दोस्रोको विषयमा हालसम्म उनको सचिवालयबाट कुनै प्रतिक्रिया आएको छैन। उजुरी पत्रमा भनिएको छ ।
‘यी र यस्तै गतिविधिका कारण आम जनताबीच जनप्रतिनिधिमूलक संस्थाप्रतिको विश्वासमा संशय पैदा हुनु स्वभाविकै हो। यद्यपि यस्तै घटना दोहोरिरहने र आचारसंहिता विपरीतका कार्य गर्ने माननीयलाई सम्मान गर्दै जाने हो भने आम राजनीतिक दलहरुप्रतिको वितृष्णा अझै बढ्न सक्ने भएकाले यस समिति समक्ष माननीय सांसद आलेज्यूको यो अडियोको ल्याब परीक्षण गरी आवश्यक अनुसन्धानबाट कारबाहीका लागि सिफारिस गर्नुहुन अनुरोध गर्दछौं ।’
उजुरी दिनेमा अधिवक्ता किशोर पौडेल, अधिवक्ता अनुपम भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्याल रहेका छन् ।





















Discussion about this post