५३३ लाइसेन्स अर्कैको नाममा

सरकारले सेवाप्रवाहलाई चुस्त र पारदर्शी बनाउन डिजिटल प्रणालीको सुरुवात गर्‍यो। तर, कर्मचारी र बिचौलियाले यसमा पनि छिद्र खोजे। र, दुरुपयोग गरेको पाइएको छ। सेवाग्राहीको व्यक्तिगत विवरण प्रणाली (सिस्टम)बाट नै मेटाएर अर्कै व्यक्तिको नाममा बनाइदिने धन्दा सुरु भएको छ। घटना हो यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुना, ललितपुरको। कर्मचारी र बिचौलियाको मिलेमतोमा यहाँ यस्तै धन्दा भएको खुलेको छ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारीले नवीकरण नभएका तथा स्वतः रद्द भएका ५ सय ३३ जनाको नामका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) गैरकानुनी रूपमा नवीकरण गरेको पाइएको छ। आर्थिक वर्ष २०७७/७८ र २०७८/०७९ को साउन र भदौ महिना गरी १४ महिनाको अवधि यो काम भएको भेटिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट सफ्टवेयरबाट नै नवीकरण नभएका र रद्द भएका ५ सय ३३ जनाको लाइसेन्स नयाँ व्यक्तिलाई बाँड्ने कामको धन्दा बाहिरिएको हो। अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अवैध काममा संलग्नविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको बताए।

अवैध काममा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुना, ललितपुरका तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरीसमेत गरी १२ जना कर्मचारी र ५ जना बिचौलिया गरी १७ जना संलग्न रहेको पाइएको छ। उनीहरूले गैरकानुनी रूपमा सरकारी कागजात सच्याइ यो काम गरेको अनुसन्धानबाट खुलेको छ।

एकान्तकुनाका कर्मचारी तथा सिन्धुली फोटोकपी सेन्टरका सञ्चालक बाबुराम शर्मा समेतले सेटिङमा बिचौलियामार्फत सवारी चालक अनुमतिपत्र जारी गर्ने गरेको भन्नेसमेत उजुरी सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो।

तत्कालीन कार्यालय प्रमुखद्वय सम्बरबहादुर कार्की र राजुभाइ कुस्माले सवारी चालक अनुमतिपत्रको नवीकरण गर्ने सम्बन्धमा गलत नियतले मातहतका कर्मचारीहरूलाई अख्तियारी प्रदान गरेको अनुसन्धानमा पाइएको आरोप पत्रमा उल्लेख छ।

अख्तियारले मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर (पाँचौं) कमल स्याङ्तान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुँयाल, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, कम्प्युटर अपरेटर (करार सेवा) रेजु भट्टराई, कम्प्युटर अपरेटर (करार सेवा) रोसन राजभण्डारी, कम्प्युटर अपरेटर (करार सेवा) श्यामसुन्दर चौधरी, कम्प्युटर अपरेटर (करार सेवा) लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा) माया सेठी, कम्प्युटर अपरेटर (करार सेवा) रिचा श्रेष्ठलाई अख्तियारले प्रतिवादी बनाएको छ।

उनीहरूविरुद्ध सवारी चालक अनुमतिपत्रको नवीकरण गर्ने सम्बन्धमा आफ्नो जिम्मेवारी अन्तर्गतको कार्य सम्पादन गर्न प्राप्त गरेको अख्तियारीको दुरुपयोग गरेको आरोप अख्तियारको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित