तरकारीको मूल्य आकासियो

इन्धन, खाद्यान्नसँगै तरकारीको मूल्य पनि आकासिएको छ । बजारमा पर्याप्त आपूर्ति हुँदाहुँदै पनि हरियो तरकारीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महिनाको अवधिमा हरियो तरकारीको मूल्य किलोमै ९३ रुपैयाँसम्म बढेको छ ।

‘सिजन सकिँदै जाँदा केही तरकारीको मूल्य बढेको छ । वर्षातले पनि केही महँगो भएको छ,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘आलु, प्याज, कागतीको मूल्य भारतबाटै बढेर आएको छ ।’

कालीमाटीमा भित्रिने तरकारीमध्ये ३५ देखि ४० प्रतिशतसम्म भारतबाटै आयात हुन्छ । एक महिना अवधिमा रातो आलु प्रतिकिलो ३६‍.१३ बाट बढेर ४४.२५ रुपैयाँ पुगेको छ । प्रतिकेजी ३३.२८ रुपैयाँ पर्ने सुकेको प्याज एक महिनामै बढेर ३९‍.२२ रुपैयाँ पुगेको छ । समितिका अनुसार १ महिनाअघि किलोको ७५.७९ रुपैयाँ पर्ने गाजर ८९ रुपैयाँ भएको छ ।

त्यस्तै साे अवधिमा तिते करेला प्रतिकेजी २५. ९६ रुपैयाँबाट बढेर ३२.४३ रुपैयाँ पुगेको छ । प्रतिकेजी ३६.१० रुपैयाँ पर्ने लाैका बढेर ५०.४८ रुपैयाँमा किन्नुपर्ने बाध्यता छ । यी सबै होलसेल मूल्य हुन् । खुद्रामा मूल्य अझ बढी हुन्छ । खुद्रामा पसलैपिच्छे फरक फरक मूल्य छ।

एक महिनाको अवधिमा भिन्डीको मूल्य किलोमा १२ रुपैयाँ बढेर ३९.४३ रुपैयाँ, हरियो प्याज ८४.८९ बाट १३७.८६ रुपैयाँ भएको छ । प्रतिकिलो १७६.६५ रुपैयाँ पर्ने च्याउ (कन्य) २६८.३३ रुपैयाँ, किलोको ११८.७० रुपैयाँ पर्ने ब्रोकाउली १७९.०५ रुपैयाँ पुगेको छ ।

समितिका अनुसार कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । मुलुकभर २ लाख ८१ हजार १ सय ३२ हेक्टरमा तरकारी खेती हुन्छ । वार्षिक ३९ लाख ६२ हजार ३ सय ८३ टन उत्पादन हुन्छ । अपुग तरकारी मुख्यतः भारत, चीन र बंगलादेशबाट आयात हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित