साइकलमै चढाएर भित्राए बेहुली

तनहुँ। कोट–पाइन्ट, दुबोको मालामा बेहुला ठाँटिए । घरबाट निस्कने बेला भयो तर बेहुला–बेहुली चढ्न सिंगारिएको गाडी कतै देखिएन । व्यास नगरपालिका–१० कुमलटारीका २६ वर्षीय बेहुला विनोद सापकोटाले आफ्नो साइकल निकाले ।

उनका ६ जना साथीहरू पनि आआफ्नो साइकलमा देखा परे । जन्ती हिँड्यो साइकलमै । घरभन्दा करिब ६ किलोमिटर परको एक होटलमा बेहुली पक्ष बेहुला र जन्तीको स्वागतका लागि पर्खिरहेका थिए । साइकलमा सवार बेहुला देखेर केहीबेर अचम्म माने ।

‘नयाँ आइडिया’ भन्दै हँस्यौली पनि चल्यो । हँसिलो मुहारका साथ बेहुला पक्षको स्वागत गरे । बिहेको विधि सकिएपछि बेहुलाले बेहुली संगीता भुजेललाई पनि साइकलमै चढाएर घर ल्याए ।

मितव्ययिताको नारा चर्को भए पनि तडकभडक तरिकाले विवाह गर्ने चलन समाजबाट हट्न सकेको छैन । विवाहमा बेहुला बग्गी, सजावटसहित महँगा कार र वरियात गाडीमा बेहुली लिन जाने चलन रहेको समयमा सापकोटाले भने साइकलमै आफ्नी बेहुलीलाई अन्माएर ल्याए ।

मितव्ययी तरिकाले विवाह गर्नुपर्छ र पेट्रोलियम पदार्थको खपत घटाउनुपर्छ भन्ने सन्देश दिन साइकलमै विहे गरेको उनले बताए । उनको यही सोचलाई साथ दिँदै साथीहरू पनि साइकलमै जन्ती गएका हुन् ।

यो दृश्य देखिरहेका छरछिमेक भने अचम्म मानेर हेर्दै थिए । पैदलयात्री पनि एकछिन रोक्किएर साइकलमा सवार बेहुला–बेहुली र तिनका साथीलाई हेर्थे ।

‘म एक साइकलप्रेमी हुँ, स्वास्थ्यको हिसाबले पनि साइकल महत्त्वपूर्ण साधन हो’, बेहुला सापकोटाले भने, ‘महँगो पेट्रोलियम पदार्थको खपत घटाउनुपर्छ भन्ने सन्देश दिन पनि विवाहमा साइकलको सवारी रोजेको हुँ ।’ नेपाल साइकल उत्सवका क्रममा उनले इलामदेखि मुगुको रारासम्म साइकल यात्रामा पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित