गोरखा। गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको छ। सीमानामा संरचना बनाउँदा अपनाउनु पर्ने कुनै पनि मापदण्ड पालना नगरी तारबार लगाएको हो। यस विषयमा न परराष्ट्र मन्त्रालय जानकार छ, नत जिल्ला प्रशासन कार्यालय नै।
गोरखाका प्रमुख जिल्ला अधिकार शंकरहरि आचार्य यस विषयमा प्रशासनलाई कुनै जानकारी नै नरहेको बताउँछन्, भन्छन्, ‘सीमा क्षेत्रमा तारबार गरिएकाबारे जिल्ला प्रशासन कार्यालय गोरखामा कुनै पनि जानकारी छैन र समन्वय पनि गरिएको छैन। यता परराष्ट्र मन्त्रालय पनि यो विषयमा आंशिक मात्रै जानकार देखिन्छन्। परराष्ट्र मन्त्रालयकी सहप्रवक्ता रीता धिताल दशगजा क्षेत्र छाडेर तारबार वा अन्य संरचना निर्माण गर्न पाउने व्यवस्था भएकाले चीनले त्यसै गरेको हुनुपर्ने बताउँछिन्।
भन्छिन्, ‘हाम्रो जानकारीमा रहेसम्म रुई नाकामा दशगजाभन्दा पर तारबार गरिएको छ। सीमास्तम्भभन्दा दशगजा क्षेत्रभित्र तारबार वा कुनै पनि संरचना बनाउँदा दुईपक्षीय सहमति आवश्यक पर्छ। दशगजाभन्दा बाहिर हो भने छलफल गरिरहनु पर्दैन।
तर, यस स्थानमा दशगजा क्षेत्रभित्र तारबार लगाएको स्थानीयको दाबी छ। स्थानीय छिरिङ लामा भन्छन्, ‘रुइला नाकामा तारबार लगाएको छ। त्यो पनि दशगजा भित्रै। तारबार भने चीनतर्फको भागबाट फलाममा बाँधिएको छ।’
तीन वर्षदेखि आवतजावत ठप्प
चीनले दशगजा क्षेत्रमा नै तारबार लगाएपछि नेपाल–चीन आवतजावत पनि बन्द रहेको स्थानीय छिरिङ लामा बताउँछन्। तार लगाएकै तीन वर्ष भएको उनको भनाइ छ। ‘चीनले तारबार लगायो। आवतजावत बन्द छ। आफन्त भेट्न जान पनि पाइँदैन,’ उनले भने। उनी थप्छन्, ‘साम्दो र रुई भनेको त वारि र पारिको गाउँ हो। यताको आफन्त उता पनि छन्। उताका इष्टमित्र यता पनि छन्। सीमाना बन्द भएपछि बुढाबूढीहरू आफन्त भेट्न नपाएर चिन्ता गरिरहेका छन्।
सीमानाका नै तारबारले बन्द गरिदिएपछि अत्यावश्यक दैनिक उपभोग्य सामग्री ल्याउन पनि समस्या परेको स्थानीयको गुनासो छ। चीनले तारबार गरेर गेटमा ताल्चा लगाएको स्थानीयले बताएका छन्। ‘गेटमा ताल्चा लगाएको छ। सीसी क्यामेरा राखेर निगरानी भइरहेको छ भन्ने हल्ला सुनिन्छ तर हामीले देखेका छैनौं’, अर्का स्थानीय धावा लामाले भने, ‘उता तिब्बती र चिनियाँ सेना प्रहरी मिलेर डिउटी बसेका हुन्छन्।’
रुई भञ्ज्याङको वारपार हुने गरी तारबार गरेको हालै त्यहाँ व्यक्तिगत भ्रमण गरेर फर्केका एक सरकारी कर्मचारीले जानकारी दिए। ‘रुई भञ्ज्याङ ढाक्ने गरी वारपार तारबार गरिएको छ’, नाम उल्लेख नगरिदिन आग्रह गर्दै उनले भने, ‘तारबार करिब डेढसय मिटर लामो छ। तारबार गरेर गेटमा चापी लगाएको छ। त्यहाँबाट त यसै पनि हिँड्न मिल्दैन। बार कटेर दुवै छेउकुनाबाट पनि मान्छे र पशुचौपाया हिँड्डुल गर्न मिल्दैन।’ आफूहरू त्यहाँ पुग्नेबित्तिकै चिनियाँ र तिब्बती सुरक्षाकर्मी आइपुगेको उनले बताए।





















Discussion about this post