कर्णालीबाट अदुवाका चाना युरोप निर्यात, माग धान्न मुस्किल

सल्यानको शारदा नगरपालिकाका ज्ञानदेव घर्ती केही वर्ष अगाडि आफूले उत्पादन गरेको अदुवाको मूल्य नपाएर हैरान थिए । तर अहिले आफ्नो घरकै आँगनबाट अदुवा बेच्न पाउँदा खुसी छन् । ‘पहिला बिक्री नै नभएर गाउँमै बाँडेर सक्थ्यौँ तर अहिले भने घरबाटै हाम्रो अदुवा बिक्री हुन्छ’ उनले भने ।

प्रतिकिलो ५–१० रुपैयाँमा बिक्री गर्दै आएका किसानले अहिले ४० देखि ४३ रुपैयाँसम्ममा घरबाटै अदुवा बिक्री वितरण गर्न पाएका छन् । कर्णालीका अदुवा किसानले आफ्नो उत्पादन बिक्री गर्नका लागि भारतीय बजार कुर्नु परेको छैन । अहिले आफ्नै प्रदेशमा सहज तरिकाले बिक्रीवितरण गरिरहेका छन् । अदुवाले सहजै बजार र मूल्य पाउन थालेपछि किसानको आकर्षण अदुवा खेतीमा पनि बढ्न गएको छ । यसअघि परम्परागत रुपमा गरिँदै आएको अदुवाखेती अहिले आधुनिक रुपमा हुन थालेको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरसँग जोडिएको भेरीगङ्गा नगरपालिका– ५ सुर्खेतस्थित छिन्चुको दक्षिणपूर्वी भागमा रहेको कालीदमारमा विसं. २०७० मा स्थापित अदुवा प्रशोधन उद्योग ‘द अर्गानिक भ्याली प्राली’ ले आव २०७१/०७२ यता अदुवा, टिमुर, बेसार, अलैँची, मेथी, निबुवा, कफी र जुसका क्षेत्रमा काम गर्दै आइरहेको छ । कम्पनीले किसानको अदुवालगायतका उत्पादन खरिद गर्न थालेपछि किसानलाई सहज भएको हो ।

उक्त उद्योगले सुर्खेतको अवलचिङ, रुकुम पश्चिम, सल्यान र डोटीबाट अदुवा संकलन गरिरहेको छ । लामो समय अर्गानिक कृषि प्रशिक्षकको रुपमा काम गरेका प्रेमबहादुर कठायतले दूर दराजका किसानको अदुवा तथा अन्य उत्पादन खरिद गरी सहज गरिदिएको बताए ।

‘गाउँका किसानले बजार नै नपाएर अदुवा कुहाएरै फाल्ने अवस्था थियो,’ उनले भने, ‘तर अहिले अर्गानिक भ्यालिले घरबाट प्राङ्गारिक प्रमाणित गरी अदुवा खरिद गर्न थालेपछि किसान पनि खुसी भएका छन् ।’ सुर्खेतको चिंगाड गाउँपालिकाका डम्मर रानाले कम्पनीले अदुवा खरिद मात्र नभइ अर्गानिक कृषि सम्बन्धी तालिम समेत दिएपछि निकै सहज भएको बताए ।

‘हामीलाई गाउँमै आएर अर्गानिक तालिम पनि दिनुहुन्छ,’ उनले भने, ‘यतिमात्रै नभएर हामीले उत्पादन गरेको अदुवाको राम्रो मूल्यसहित बेच्न पनि पाएका छौँ, न बजार पाइएन भन्ने चिन्ता छ न भाउको।’ द अर्गानिक भ्याली १ करोड ३ लाख लगानीमा सञ्चालनमा आएको कम्पनीकी कार्यकारी निर्देशक सुलोचना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार उद्योगले विभिन्न जिल्लाका करिब १३ सय किसानका ८ सय ४० हेक्टर जमिनबाट प्रांगारिक प्रमाणीकरण गरी अदुवा खरिद गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित