मन्दिरमा एक-दुई जना मात्रै दर्शनार्थी आउने-जाने गरिरहेका थिए। कोरोना महामारी र मंसिरको चिसोका कारण दर्शनार्थी संख्या कम हुन थालेको थियो।
एक-दुई जना स्थानीय भक्तजन सरासर मन्दिर अगाडि पुगेर शिर निहुराएर भगवानको दर्शन गर्थे। दानपत्रमा भेटी चढाउँथे र पूजारीबाट टीका लगाएर फर्किन्थे।
बाहिर दर्शनार्थी नभए पनि भित्र भण्डारामा भने काँसको ठूलो कसौंडीमा आठ माना भात पाकिरहेको थियो- कालो मार्सी चामलको। कुर्ता, धोती र टोपीसमेत पहेँलै लगाएका मन्दिरका पूजारीले अँध्यारो भण्डाराको अँगेनामा भात पकाइरहेका थिए।
जुम्ला सदरमुकाम खलंगा बजारको बीचमा रहेको चन्दननाथ मन्दिरको भण्डारामा हरेक दिन बिहान यसैगरी आठ माना काली मार्सी चामलको भात पकाइन्छ।
काँसको ठूलो कसौंडीमा पकाएको भात ठूलो चाँदीको थालीमा पस्किएर चाँदीको कचौरामा राखिएको दूधसहित मन्दिरमा चढाइन्छ। मन्दिरमा चढाइएको त्यही भात पूजारी, हेरालु र दर्शनार्थीले प्रसादको रुपमा खान्छन्।
मन्दिरका पण्डित हेमन्तराज आचार्यका अनुसार स्थानीय बालबालिकाहरूको अन्नप्रासनका लागि पनि कतिपयले प्रसादका रूपमा पकाइएको यही भात लगेर खुवाउने प्रचलन छ। खाएर भ्याइएन भने गाईलाई खुवाइन्छ। तर आठ मानाभन्दा कम चामल पकाउन पाइँदैन।
किन आठ माना नै भात पकाउन थालिएको भन्नेबारे कसैले यकिन जानकारी छैन। किम्बदन्ती अनुसार करिब दसौं शताब्दीतिर भारतको कास्मिरबाट चन्दननाथ नाम गरेका शिद्धपुरूष घुम्दै जुम्लाको खलंगा पुगेका थिए। खलंगा त्यतिबेला सिम (पानीको दलदल) थियो।
पानीको दलदल र जंगलका रूपमा रहेको खलंगामा गाई-वस्तु चर्न जान्थे। त्यहाँ चर्न जाने गाईले मालिकलाई दूध नदिएर सधैं एकै स्थानमा खन्याउँथ्यो।
हरेक दिन गाईले एकै स्थानमा दूध खन्याउने गरेको थाहा पाएपछि त्यो स्थानमा उत्खनन् गरेर हेरियो। भगवान दत्तात्रयको चरणपादुका भेटिएपछि त्यहाँ मन्दिर स्थापना गरी पूजा सुरूवात गरिएको किम्बदन्ती छ।
साथै, उत्खनन् गर्दा भेटिएको दत्तात्रयको चरणपादुकालाई चन्दननाथ बाबाले नै मन्दिर स्थापना गरिराख्ने काम गरेकोले यो मन्दिरको नाम नै चन्दननाथ मन्दिर रहन गएको मन्दिरका पण्डित आचार्य बताउँछन्।
चन्दननाथ बाबाले दत्तात्रयको मन्दिर नजिकै भैरवनाथको मन्दिर पनि स्थापना गरेका थिए। उनै चन्दननाथले अहिले देशभर प्रख्यात रहेको मार्सी धानको बिउसमेत कास्मिरबाट जुम्ला लगेको थिए। उनैले लगेर गएको मार्सी धान अहिले पनि जुम्लामा रोप्ने गरिन्छ।





















Discussion about this post